शिक्षा क्षेत्रमा सबैभन्दा धेरै भ्रष्टाचार


पुष १० – नेपालमा सबैभन्दा धेरै शिक्षा क्षेत्र भ्रष्टाचार हुने गरेको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तयार पारेको २८ औं वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा सो क्षेत्रमा १८ दशमलब ३२ प्रतिशत उजुरी परको उल्लेख छ।भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक दायित्व बोकेको आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको उक्त प्रतिवेदनअनुसार भूमिमा ६ दशमलब ४८, वनमा ४ दशमलब ४८, स्वास्थ्यमा ४ दशमलब ३७, गृहमा ४ दशमलब १३, भौतिक पूर्वाधारमा दुई दशमलब ८२ र अर्थमा २ दशमलब ५९ प्रतिशत उजुरी परेको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताउनुभयो।




बढी उजुरी पर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहेको छ। गत आवमा शिक्षामा ५ हजार ५०, संघीय मामिला तथा सामान्य प्रशासनमा ३ हजार ३ सय, भूमि सुधारमा १ हजार ७ सय १८, स्वास्थ्यमा १ हजार ६२ र गृहमा ९ सय ३२ उजुरी परेको छ।गत आवमा आयोगमा १९ हजार ४ सय ८८ उजुरी प्राप्त भएको थियो। आयोगको २ सय ४७ पृष्ठ लामो प्रतिवेदनमा वर्ष दिनभित्र सम्पादन गरेका कामकारबाही समावेश गरिएको छ।
प्रतिवेदनमा आर्थिक वर्ष २०७४ र ७५ मा आयोगमा कुल १९ हजार ४ सय ८८ वटा उजुरी परेको उल्लेख छ। प्रवक्ता दंगालले ती उजुरीमध्ये १२ हजार ४ सय उजुरी फस्र्यौट गरिएको जानकारी दिनुभयो।६ हजार ४ सय ५८ उजुरी प्रारम्भिक छानविनपछि तामेलीमा राखिएको र २ सय ६२ उजुरी सुझावसहित तामेलीमा पठाइएको अख्तियारले जनाएको छ। तीमध्ये ५ सय ४६ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ भने ५ हजार १ सय ३४ वटा उजुरीउपर कारबाही गरिएको छ। नेपालसमाचारपत्रमा खबर छ ।