स्वास्थ्य अवस्थाका कारण राजीनामा दिँदै जापानी प्रधानमन्त्री सिन्जो आबे

टोक्यो — जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने भएका छन् । जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार आबेले स्वास्थ्यमा समस्या देखिएका कारण राजीनामा दिने भएका हुन् ।

एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको बताइएको छ ।

आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदैछ । आबेको राजीनामापछि उपप्रधान तथा अर्थमन्त्री तारो आसोले कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

आबेको राजीनामासँगै सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी) मा नेतृत्वका लागि खिचातानी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कोरोना महामारी नियन्त्रण तथा रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेको निकै आलोचना भइरहेको थियो । साथै पार्टीका सदस्यहरु विभिन्न काण्डमा मुछिएपछि पनि उनी समस्यामा परेका थिए ।

कोरोना महामारीका कारण जापानको अर्थतन्त्र इतिहासमै सबैभन्दा कमजोर भएको छ । केही दिनअघि प्रधानमन्त्री आबेले अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।