जापानमा शक्तिशाली ताईफु ९ आउँदै सतर्क रहन अनुरोध

टोकियो । बर्षेनी शक्तिशाली समुद्री आँधीको सामना गर्दै आइरहेको जापानमा यही अगस्त ३१ तारिक ओकिनावा क्षेत्रमा शक्तिशाली ताइफु ९ आइपुग्ने भएको छ ।

जापान मेटोरोलोजिकल एजेन्सीका अनुसार ताइफु ९ फिलिपिन्सको पूर्वबाट ढिलो गतिमा उत्तरपश्चिम तर्फ अघी बढिरहेको छ ।

ताइफुले ओकिनावा द्विपमा अगस्ट ३० साझबाट असर गर्न थाल्नेछ ।

ओकिनावा क्षेत्रमा भीषण बर्षा, हावाहुरी सहित ताइफुले ब्यापक असर पार्नसक्ने मौसम अधिकारीहरुको अनुमान छ ।

केन्द्र भागमा ९८५ हेक्टोपास्कल्स र ४० मिटर भन्दा बढि हावाको बेगले अघी बढ्ने ताइफुले १३ मिटर सम्मको उचाईमा  उच्च छालहरू ल्याउन सक्ने भएकाले सतर्क हुनु आवश्यक रहेको मौसम अधिकारिहरुले बताएका छन ।

ओकिनावा क्षेत्रमा बिनासकारी हुने ठानिएको ताइफुबाट जोगिन प्रारम्भिक तयारी गर्न अनुरोध गरिएको छ ।

ताइफुले सेप्टेम्बर १ मा पश्चिमी जापानमा भारी वर्षा गराउने छ ।  ताइफु ओकिनावाबाट अघी बढ्दा थप बिनासकारी शक्तिशाली हुने अनुमान गर्दै एजेन्सीका अधिकारीहरुले पूर्व चीन सागर हुँदै उत्तरमा नानसेई टापुहरू र क्युशुको पश्‍चिम उत्तरमा ब्यापक क्षती पुर्‍याउन सक्ने चिन्ता ब्यक्त गरेका छन ।

 

जापान मेटोरोलोजिकल एजेन्सीले आँधीबेहरी आउने र आँधी अघिबढ्ने मुख्य क्षेत्रमा उच्च छालहरू विरूद्ध कडा होशियारी र पूर्व तयारी अपनाउन सचेत गराएका छन ।

 

समुन्द्र तट क्षेत्रमा छालको प्रकोपहरू, गहिरो भूमि क्षेत्रमा डुबान र नदीहरूमा बाढीको लागि सावधानी अपनाउन आवश्यक रहेकाले आंधीको बारेमा मौसम एजेन्सिले जारी गर्ने ताजा सूचनालाई ध्यान दिएर छिटो तयारीको लागि आह्वान गरिएको छ ।

 

ओकिनावा क्षेत्रमा गत साता मात्र ताइफु ८ ले दुईदिनसम्म जनजिवन प्रभाबित पारेको थियो । गत साताको ताइफु भन्दा अबको ताइफु शक्तिशाली भएकाले बिनासकारी हुने ठानिएको छ ।