जापानमा विदेशी कामदारको संख्या नियमित सार्वजनिक गरिने


जापान सरकारले आगामी अप्रिलबाट लागू हुने गरी विदेशी कामदार थप जापान भित्र्याउन नयाँ भिसा प्रणाली लागू गर्ने भएको छ । यसैक्रममा, कामदारहरु ठूला शहरमा मात्रै केन्द्रित नहोउन् भन्नका लागि सरकारले जापानमा काम गरिरहेका विदेशी कामदारको संख्या नियमित जारी गर्ने योजना ल्याउने भएको छ । जापानको ठूला महहानगर क्षेत्रमा भन्दा क्षेत्रिय समुदायहरुमा चरम श्रमिक अभाव रहेको छ । यसैकारण कामदारहरु ठूला शहरमा मात्र काम गर्दा वास्तविक श्रमिक अभाव भएका क्षेत्रको माग पुरा हुँदैन । यस्तो नहोस् भन्नका लागि न्याय मन्त्रालयले हरेक तीन महीनामा कुन कुन उद्योग र प्रिफेक्चरमा कति जना विदेशी कामदार कार्यरत छन् भन्ने तालिका सार्वजनिक गर्ने योजना ल्याउन लागेको हो ।
यसैक्रममा सरकारले विदेशी कामदारका लागि सहयोगी उपायहरु पनि ल्याउने बारे सोचिरहेको छ ।
पछिल्लो समय जापानका अधिकांश उद्योगहरुमा कर्मचारीको अभाव खड्किरहेको छ । यसले उत्पादनमा कमी ल्याउनुका साथ अर्थतन्त्रलाई पनि नराम्ररी प्रभावित पार्न सक्ने देखिएको छ । त्यसैकारण सन् २०१९ मा जापानले थप विदेशी कामदारका लागि जापानको ढोका खोल्ने घोषणा गरेको हो । यो नीतिगत परिवर्तनले न्यून कौशल भएका कामदारका लागि पनि नयाँ भिसा स्टेटस दिन्छ भने यसले जापान छिर्न चाहिने आवश्यकताको सिमालाई पनि कम गरिदिन्छ । नयाँ कानूननले कामको अवसरको सृजना गर्न सहयोग त गर्छ नै साथै गैरकानूनी कामदार घटाउन सरकारलाई सहयोग समेत गर्ने विश्वास लिइएको छ । एजेन्सी