SEE परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने

काठमाडौं – यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ। मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्नेछ। “हामीले यहाँबाट प्रश्नपत्र मात्र पठाउँछौँ”, उनले भने, “उत्तरपुस्तिकाको छपाइदेखि परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्नेजस्ता काम प्रदेश सरकारले गर्नेछ।”

नियन्त्रण कार्यालयले गत वर्ष तोकिएको परीक्षा केन्द्र नबढाइ तोक्न निर्देशन दिएको छ। यसअघि नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गर्ने गर्दथ्यो। प्रदेश सरकारले सञ्चालन गरेको उत्तरपुस्तिका भने नियन्त्रण कार्यालयमा आउने र समपरीक्षण तथा नतिजा प्रकाशन गर्नेछ।

सरकारले यस वर्षदेखि एसइई प्रदेशस्तरमा नै गर्ने भने तापनि आवश्यक तयारी नपुगेकाले नियन्त्रण कार्यालयलाई जिम्मेवारी दिइएको हो। यस वर्षको एसइई परीक्षा चैत १० गतेबाट हुँदैछ। परीक्षामा करीब चार लाख ८० हजार विद्यार्थी सहभागी हुँदैछन्। अहिले प्रश्नपत्रको काम भइरहेको छ। रासस