जापान जान ठगिनु पर्दैन, भाषा परीक्षामार्फत रोजगारीको ढोका खुल्यो

नेपाली युवाहरुका लागि जापानमा रोजगारीको सजिलो र वैधानिक बाटो खुलेको छ । अहिलेसम्म अनेक माध्यमबाट जापानामा पुग्ने गरे पनि अब भने जापानी भाषा परीक्षा उत्तीर्ण गरेर कामका लागि जापान जान पाइने छ ।

जापानको संसदले हालै पारित गरेको विदेशी श्रमिक सम्बन्धी नयाँ नियम लागू भएसँगै जापान सरकारले रोजगारीका लागि श्रमिक आपूर्ति गर्ने देशमा नेपाललाई सूचीकरण गरेको हो ।

जापान सरकारको महत्वाकांक्षी योजनाका रुपमा रहेको जापानी भाषा परीक्षामार्फत कामदार आपूर्ति गर्ने देशको नवौं सूचीमा नेपाललाई राखेको छ । नयाँ प्रक्रिया लागू भए जापान जाने कामदार ठगिने क्रमको पनि अन्त्य हुने विश्वास लिइएको छ ।

यसअघि कम्वोडिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, चीन, थाइल्यान्ड र म्यानमारलगायतका ७ देशको नाम सार्वजनिक गरी बाँकी एक देशसँग छलफल भइरहेको बताइए पनि सोमबार ९ देशमा भिसा प्रकृयाका लागि जाँच लिने प्रस्ताव गरिएको हो ।

जापानी सरकारी समाचार संस्था एनएचकेले प्रस्तावित बाँकी राष्ट्रमा आठौं राष्ट्र मंगोलिया छ भने नवौं स्थानमा नेपाललाई राखिएको जापानको न्याय मन्त्रालयलाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरेको छ ।

समाचार अनुसार जापानी न्याय मन्त्रालयले प्रस्ताव गरेको ड्राफ्टमा २ देश थप गरिएको हो । एक हप्तापश्चात् मन्त्रालयले आवश्यक पक्रियामा छलफल गरी उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित गराइने छ ।

जापान सरकारले देशभर श्रमिक अभाव हुन नदिन बढी भन्दा बढी विदेशी कामदार लैजाने सम्बन्धी विधेयक पारित गरिसकेको छ । मन्त्रिपरिषद् बैठकबाट उक्त प्रस्ताव पारित हुनसके कामदार आपूर्ति गर्ने देशहरुसँग सम्झौता भई जापानमा काम गर्न जाने विदेशी कामदारका हकमा सहज हुने आँकलन गरिएको छ ।

जापानमा हाल रहेको प्राविधिक प्रशिक्षार्थी प्रणाली अन्तर्गत दलालहरुले विदेशी कामदारबाट ठूलो परिमाणमा रकम असुल्ने गरेको पाइएकाले पनि जापान सरकारले सम्झौता हुने दुई देशबीच सूचना आदनप्रदानलाई सहज बनाउने योजना पनि अघि सारेको छ ।

जापानको न्याय मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरुसहित जापानमा आउने विदेशी कामदारहरुलाई शान्त वातावरणमा बस्ने व्यवस्था मिलाउनका विभिन्न देशमा श्रम सहयोग केन्द्र खोल्ने तयारी समेत गरिरहेको समाचारमा उल्लेख छ ।

यसका लागि भियतनाम, फिलिपिन्ससहित केही एसियाली देशमा प्राविधिक तथा सिप परिक्षा लिने आन्तरिक तयारी पनि थालिसकेको छ । आगामी अप्रिल महिनाबाट अर्धदक्ष र दक्ष कामदारको रुपमा दुई वटा भिषा प्रक्रियाबाट जापान आउन चाहने विदेशी कामदारले अनिवार्य भाषा र सिप परीक्षा दिनुपर्ने छ ।